Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रवि लामिछानेलाई भैरहवा कारागारको ब्लकमा एक्लै राखियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने सोमबार जिल्ला कारागार चलान गरिएको हो। आजै बिहान उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेशको मिसिल प्राप्त भएपछि प्रहरीले उनलाई जिल्ला अदालत पेस गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज कार्कीको नेतृत्वको टोलीले उनलाई अदालत पेस गरेको थियो । अदालत पुर्‍याउने बित्तिकै लामिछानेलाई थुनुवा पूर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरे लगत्तै कारागार चलान गरिएको हो । डीएसपी कार्कीको नेतृत्वमै लामिछानेलाई तत्काल कारागार पुर्‍याएको थियो ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरिएको छ । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले जानकारी दिए । ‘उहाँको स्वास्थ्य अवस्था नर्मल छ,’ उनले भने, ‘पूर्व गृहमन्त्री लामिछानेलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं । अहिले उक्त ब्लकमा उहाँ मात्रै थुनुवा हुनुहुन्छ ।’

उच्च अदालतले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेपछि जिल्ला कारागारमा उनका लागि छुट्टै कक्ष तयार गरिएको स्रोतले जनाएको छ । लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ। शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई शनिवार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

सोमबार बिहान अदालत लैजानु अघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । त्यस्तै, जिल्ला कारागार परिसर र आसपासपनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।