Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नौं महिनासम्म गठबन्धनको औचित्य सावित हुन सकेनः डा. कोइराला

‘प्रधानमन्त्री मातहतका तीन कार्यालय आफ्नो मन्त्रालयअन्तर्गत जान जरूरी’

सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले देशको परिस्थिति अत्यन्तै नाजुक रहेको बताएका छन् । साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले देशको राजनीति, आर्थिकलगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताए । उनले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएका जिकिर गरे ।

कोइरालाले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिए पनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको उल्लेख गरे । राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै उनले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने बताए ।

नेपालको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ । कोइरालाले मुलुकको सुशासन कस्तो अवस्थामा छ भन्ने कुरा स्पष्ट रहेको भन्दै वर्तमान गठबन्धनको औचित्य सावित हुन नसकेको तर्क गरे । कोइरालाले राजनीतिक इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने बताए । कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याएको सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान आफ्नो मन्त्रालयअन्तर्गत जान जरूरी रहेको बताएका छन् ।

आइतबार डा। सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक विमोचन गर्दै कोइरालाले भने, ‘सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान तीन वटै प्रधानमन्त्रीअन्तर्गत छ । त्यो आ–आफ्नो मन्त्रालयअन्तर्गत जान जरूरी छ ।’ सम्पत्ति शुद्धीकरण मुद्दा लागेसँगै सांसदको पद जाने र सम्पत्ति शुद्धीकरण प्रधानमन्त्रीमातहत रहेकोमा मानिसहरू डराइरहेको पनि कोइरालाले उल्लेख गरे ।