Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजावादीको वितण्डाको विरोध गरे पनि सरकारप्रति नरम छैनौंः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको बताएका छन् ।

१४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा आफूहरुले दर्ज गरेको उनले बताए । आइतबार काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिएका हुन् ।

‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो, हामीबाट गल्ती भएको हो । तर, जातीय पहिचानको कुरा छाडेका छैनौं । १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ, भविष्यमा उठाउँछौ भनेर’ प्रचण्डले भने । प्रचण्डले वैशाख ६ गते काठमाडौंमा हुने नेवाः मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने बताए ।

‘प्रतिगामीहरू फेरि टाउको उठाउन सम्भव छैन, त्यसका लागि काठमाडौंका नेवारहरू जुरुक्क उठ्नुपर्‍यो । यथास्थिति र प्रतिगामी षडयन्त्रका विरुद्ध आन्दोलन गर्न जरुरी भयो’ उनले भने । प्रचण्डले राजावादी वितण्डाको विरोध गर्दा सरकारले राहत महसुस गरे पनि आफूहरू केपी ओली नेतृत्वको सरकारविरुद्ध नरम नहुने समेत बताए ।