Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राष्ट्रपति पौडेलबाट रामनवमी पर्वको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’ पर्व  धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

Photo (1).jpeg
‘राम नवमीजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, सांस्कृतिक एवं भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु’, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ।

उनले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गरी यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना कामना समेत गरेका छन् ।