Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

गृहमन्त्रीलाई सांसदको प्रश्नः प्रहरीलाई गाडीले पेलेर जान उक्साउनेलाई किन छोडियो?

‘सजिलो परिस्थिति देखिँदैन, सरकार गम्भीर होस्’

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले राजावादीको प्रदर्शनमा प्रहरीलाई गाडीले पेलेर जान उक्साउनेलाई छोडेको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृहमन्त्री रमेश लेखक समक्ष आपत्ति जनाएका हुन् ।

‘प्रहरीलाई गाडीले पेलेर जान उक्साउनेलाई किन छोडियो ? यो संयमताको हद हो ? यस्तो संयमता अपनाउनु पर्ने थियो ?’, अधिकारीले प्रश्न गरे । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । राजावादी प्रदर्शनको ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईंले प्रहरीलाई पेलेर गाडी अघि बढाउन खोजेका थिए । त्यस दिनको घटनाबारे जवाफ दिन गृहमन्त्री उक्त बैठकमा उपस्थित भएका हुन् ।


राजावादीको हिंसात्मक प्रदर्शनक्रममा दुई जनाको मृत्यु भएको थियो । ‘सर्वसाधारणमाथि कसरी गोली लाग्यो ? केही दलको कार्यालयमा सुरक्षा दिइयो । नजिकै रहेका राजनीतिक दलको कार्यालयमा किन सुरक्षा दिइएन ?’, उनले नेकपा (एकीकृत समाजवादी) को कार्यालय लक्षित गर्दै भने ।

‘सजिलो परिस्थिति देखिँदैन, सरकार गम्भीर होस्’
सत्तारुढ नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले जनता र लोकतन्त्रलाई सुरक्षित राख्न सरकार चनाखो हुनुपर्ने बताएकी छन् । वैठकमा तीनकुने घटनातर्फ संकेत गर्दै उनले अहिले सजिलो परिस्थिति नदेखिएको बताइन् । ‘सरकार गम्भीर होस्, सजिलो परिस्थिति देखिँदैन । जनता र लोकतन्त्रलाई सुरक्षित राख्न सरकार चनाखो हुनुपर्छ’, सांसद प्रसाईंले भनिन्।

शुक्रबार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीले तीनकुनेमा गरेको प्रदर्शनबारे जानकारी दिएका छन् । मन्त्री लेखकले घटनाबारे जानकारी गराएपछि सांसदहरूले प्रश्न गरेका थिए । ‘एकै दिन दुईटा आन्दोलन गर्न दिने हो कि होइन ? जो व्यक्तिलाई आन्दोलनको जनकमाण्डर बनाइएको थियो ध्यान दिनुपर्छ कि पर्दैन ?’, सांसद प्रसाईंले प्रश्न गरिन् ।