Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

लुक्लामा मौसम बिग्रँदा रामेछापमा रोकिए पर्यटक

सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न जाने पर्यटक मन्थलीमा रोकिएका छन्। तुवाँलोका कारण खुम्बु क्षेत्रको मौसममा खराबी आएपछि मन्थली–लुक्लाको नियमित उडान हुन नसक्दा पर्यटकहरू मन्थलीमा रोकिएका हुन् ।

मौसमको खराबीका कारण मन्थलीबाट सोलुका लागि नियमित उडान हुन नसकेको मन्थली विमानस्थलका प्रमुख हिरोण शाहले जानकारी दिए । बिहीबार बिहान केही उडान भएका भए पनि शुक्रबार बिहानदेखि उडान हुन सकेको छैन । पर्यटकहरू मन्थली विमानस्थल वरपर विमान उड्ने प्रतीक्षामा बसिरहेका छन् ।

खुम्बु क्षेत्रमा मौसम खराब भएपछि जहाज उड्न नसकेको कारण हेलिकप्टरमार्फत केही पर्यटकहरू फाप्लु र लुक्ला गएका छन् । बिहीबार बिहान एक्कैछिन मौसम खुलेको बेला प्लेन उड्ने भए पनि दिनभरि मौसम खराब हुँदा उडान रोकिएका थिए ।


केही दिन यतादेखि लागेको बाक्लो तुवाँलोको कारण भिजिबिलिटी अति कम हुन गएको छ । जसले गर्दा जहाज उड्न सकेका छैनन् । मन्थली विमानस्थलबाट सीता, तारा र समिट एयरका जहाजहरूले पर्यटकहरूलाई सोलु लैजाने र ल्याउने गरेका छन् । काठमाडौंबाट गाडीमा मन्थली आउने पर्यटकहरू यहाँबाट जहाज चढेर सोलु जाने गर्दछन् ।

नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थलबाट लुक्लाको लागि यात्रीहरू ल्याउने र लैजाने गरेको छ । दिनभरि मौसम खुल्दा एक दिनमा मन्थली– लुक्लाका ६० वटासम्म उडान हुने गर्दछन् । मौसम नखुल्दा पर्यटकहरू गन्तव्यमा पुग्न सकेका छैनन् । जहाज नचल्दा सयौँ पर्यटक मन्थलीमा नै रोकिएर बसेका छन् ।