Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जडीबुटी प्रशोधन केन्द्र बस्तीबाट टाढा सार्न योजना बनाऔंः सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र सार्नका लागि सरकारले योजना बनाउनु पर्ने बताएकी छिन् । आफ्नै निर्वाचन क्षेत्रमा अवस्थित उक्त केन्द्रमा गत १५ गते राजावादीहरूको प्रदर्शनपछि उग्र बनेको समूहले आगजनी गरेको थियो ।

आगजनीपछि ध्वस्त उक्त केन्द्रको बिहीबार अवलोकनपछि उनले उपयुक्त स्थान हेरेर सरकारले केन्द्र सानुपर्ने बताएकी हुन् । जडीबुटीमा रहेको उक्त केन्द्र रहेको स्थान सांसद गौतमको निर्वाचन क्षेत्र समेत हो । निर्वाचन क्षेत्रका युवाहरूले गौतमलाई केन्द्रको अवलोकन र छिटो सञ्चालनमा ल्याउनका लागि पहल गर्न आग्रह गरेका थिए ।

सांसद गौतमले बिहीबार वनमन्त्री ऐनबहादुर शाहीलाई समेत लगेर केन्द्रको अवलोकन गराएकी छिन् । अवलोकनको क्रममा सांसद गौतमले आगलागीबाट २८ करोडको क्षति देखिएको भन्दै आगो लगाउनेलाई कानुनी दायरामा आउनुपर्ने र सरकारले ल्याउनुपर्ने बताइन् । ‘जतिबेला स्थापना भयो, खुला ठाउँ थियो, अब घना बस्ती भइसकेकाले यहाँ उपयुक्त छैन भन्ने महसुस भएको छ । सरकारले उपयुक्त स्थानमा सार्नको लागि योजना बनाउनु पर्छ,’ उनले भनिन् ।

प्रशोधन केन्द्रकी महाप्रबन्धक संगीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे जानकारी गराएका थिए । निरीक्षणपछि वनमन्त्री ठकुरीले छिटोभन्दा छिटो सञ्चालनमा लागि गृहकार्य भइरहेको बताए ।

‘प्राविधिक र विज्ञ राखेर छलफल गरिरहेका छौं । १० करोड भयो भने अस्थायी सञ्चालन हुन्छ भन्ने छ । क्याविनेटमा छलफल भइसकेको छ । चाँडै रकम उपलब्ध हुन्छ,’ उनले भने । प्रशोधन केन्द्रकी महाप्रबन्धक यादवले नयाँ उत्पादनको तयारी गरिरहेका बेला आगो लाग्दा ठूलो क्षति भएको बताइन् । उनका अनुसार उद्योगको दुईटा भवन र १३ वटा गाडी जलेर क्षति भएको छ ।