Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रवीन्द्र र धवलसहित ४१ जनालाई थप ६ दिन थुनामा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरासहित ४१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा ६ दिन थुनामा राख्न अनुमति दिएको छ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई बुधबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाई भने फरार छन् ।

अदालतले रवीन्द्र र धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा दोस्रोपटक थप ७ दिन थुनामा राख्ने अनुमति दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका कार्यालय प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार ११ जनाविरुद्ध राज्यविरुद्ध कसुरको राजद्रोह मुद्दा र संगठित अपराध मुद्दामा अनुसन्धान गर्ने गरी मुद्दाको उठान भएको छ ।

काफ्लेका अनुसार राज्यविरुद्धको राजद्रोह मुद्दामा अधिकतम २५ वर्ष कैद र संगठित अपराध मुद्दामा त्यसको आधा कैद सजाय हुने प्रावधान छ।