Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज सोमबार स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुँदैछ। बिहान ८ बजेबाट मतदान गर्ने भनिए पनि प्राविधिक तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ। मतदान अपराह्न ४ बजेसम्म चल्ने छ । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुमा विद्युतीय मतदान हुनेछ ।

यसअघि २०७९ सालमा पनि विद्युतीय उपकरणमार्फत् नै मतदान गराइएको थियो । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुको नेतृत्वमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत संगठन प्रतिस्पर्धा गर्दैछन् । केही स्वतन्त्रहरू पनि मैदानमा छन् ।

नेकपा (एमाले) निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालमेल गरेर उम्मेदवारी दिएका छन्। नेविसंघ, अखिल क्रान्तिकारी एक्लै प्रतिस्पर्धा गर्दैछन् । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेविसंघबाट दीपकराज जोशी, अखिल क्रान्तिकारीबाट प्रविन दाहाल, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, सुधारवादी विद्यार्थी संघबाट मिलन तामाङ, नेक्राविसंघबाट विमल सुवाल, अखिल क्रान्तिकारी बहुमतबाट राजन साउद स्वतन्त्र उम्मेदवार पद्मा भुसालले अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्का, अनेरास्ववियू (क्रान्तिकारी) बाट भुवन तिमिल्सैना, स्वतन्त्र उम्मेदवार दिप्रसन केसी, स्वतन्त्र उम्मेदवार नरेन्द्रसिंह साउद पनि अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । स्ववियु अध्यक्षका प्रत्यासीमध्ये भट्ट यसअघि स्ववियुमा सचिव निर्वाचित थिए। भुसाल कोषाध्यक्ष थिइन् । 

त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ जना मतदाता रहेको निर्वाचन समितिले जानकारी दिएको थियो । यसअघि चैत ५ गते नै निर्वाचन तय भए पनि विद्यार्थी संगठनहरूको तालाबन्दीका कारण मतदान सरेको थियो ।