Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजतन्त्र ब्युँताउनु भनेको श्मशानघाटबाट मुर्दा फर्काउनु जस्तैः अर्थमन्त्री विष्णु पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्र पुनःस्थापित गर्ने प्रयास व्यर्थ हुने बताएका छन्। आज रिपोर्टर्स क्लब नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले राजतन्त्रले आफ्नो उपादेयता आफैं समाप्त गरिसकेकाले अब नेपालमा कहिल्यै राजतन्त्र नफर्किने जिकिर गरे ।

उपप्रधानमन्त्री पौडेलले २०५८ सालको दरबार हत्याकाण्डपछि नै राजतन्त्रको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै जनआन्दोलनपछि राजतन्त्र समाप्त भएको स्पष्ट पारे । राजसंस्थाको पुनरुत्थानको पक्षमा भइरहेका गतिविधिप्रति कटाक्ष गर्दै उनले भने, ‘राजतन्त्र ब्युँताउनु भनेको श्मशानघाटबाट मुर्दा फर्काउनु जस्तै हो ।’

अर्थमन्त्री पौडेलले शुक्रबारको प्रदर्शनलाई संकेत गर्दै राजतन्त्रका हिमायतीहरूको वास्तविक चरित्र उदाङ्गो भइसकेको बताए । ‘यिनीहरू लुटपाट, हत्या र हिंसाको पक्षमा छन्, त्यो मुखुण्डो उत्रिसकेको छ । अब यिनीहरूलाई ठीक ढङ्गले चिन्न जरूरी छ’, उनले भने । 

लोकतन्त्रको रक्षा गर्न सरकार दृढ रहनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले जनताका आशा र अपेक्षालाई ठीक ढङ्गले पूरा गर्न सरकार खरो रूपमा उभिने र यसमा सबै पक्षबाट योगदान आवश्यक रहेको बताए ।