Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बालेन साहले पूर्वराजालाई काटेको जरिवाना पत्रमा कमल थापाको आपत्ति, भने - पत्र काटेर गल्ती गरे

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पूर्वराजालाई जरिवाना पत्र काटेर स्टण्ड गरेको आरोप लगाएका छन्।

राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा तीनकुनेलगायतका क्षेत्रमा बोटबिरूवा भाँचेको, दमकललगायतमा क्षति पुर्‍याएको भन्दै विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र काटेको छ।

उक्त जरिवाना पत्रप्रति थापाले आपत्ति जनाएका हुन्। मेयर साहले पत्र काटेर गल्ती गरेको उनले बताए। उनले भनेका छन्,’तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हाँस्यास्पद छ। ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो “स्टण्ट” भयो। मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु।’

आन्दोलन जिल्ला प्रशासन कार्यालयसँग स्वीकृत लिएर गरिएको उनको भनाइ छ। साथै पूर्वराष्ट्रध्यक्षसमेत रहेका पूर्वराजालाई काटिएको जरिवानापत्रको भाषा अशिष्ट रहेको उनको भनाइ छ। उक्त पत्र फिर्ता लिनु बुद्धिमानी हुने उनको सुझाव छ।

उनले लेखेका छन्,’संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ। पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ। राजाको कुरा छोडिदिउँ, उहाँ पूर्वराष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ।’ 

gyanendra-mahanagar-jaribana-1.jpg

यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
१) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
२) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
३) तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४) जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५) बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
६) सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
७) महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
८) तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
९) तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार