Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राप्रपा हिंसाको विपक्षमा छ, वार्ताबाट समाधान खोजौंः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक क्रियाकलापमा राप्रपाको संलग्नता नभएको दाबी गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार र आन्दोलनरत पक्षलाई संयमता अपाउन आग्रह गरेका छन् ।

लिङ्देनले सबै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु पर्ने बताए । ‘जसले जे प्रयोजनमा हिंसालाई प्रयोग गरे पनि त्यसको विपक्षमा छ, राप्रपा,’ उनले भने, ‘म आजको घटनाप्रति दुःख व्यक्त गर्दछु ।’ उनले आफ्नो पार्टीका मान्छेहरुको संलग्नता नभएको पनि दाबी गरे । ‘हाम्रो शान्तिपूर्ण प्रदर्शन हो, हाम्रा मान्छेहरु हिंसात्मक प्रदर्शनमा संलग्न छैनन् । त्यसको छानबिन हुनुपर्छ । त्यो सार्वजनिक हुने नै छ,’ उनले भने ।

अध्यक्ष लिङ्देनले प्रदर्शनकारीको मागलाई वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । ‘सबै प्रकारका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सरकारलाई पनि संयमता अपनाउन र प्रदर्शनकारीको मागलाई राजनीतिक रुपमै सम्बोधन गर्न सरकारसँग माग गर्छु, दमनबाट होइन । वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गर्छु,’ उनले भने ।

राजावादीको आन्दोलनका क्रममा आज तीनकुनेमा भएको झडपका क्रममा पत्रकारसहित २ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् । निजी घर, पार्टी कार्यालय र सञ्चारमाध्यमको कार्यालयका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।