प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो ।
त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा रहेका नेताहरूसमेत सुरक्षित स्थलतर्फ लागेका थिए । अहिले नेताहरू पुनः मञ्चमा जम्मा हुन थालेका छन् । आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं मञ्चमा चढेका छन् ।
मञ्चमा पुगेर नेता र राजवादी समर्थकहरुलाई कार्यक्रम स्थलमा आउन माइकबाट आह्वान गरिरहेका छन् । उनले संयमित भएर सभा सम्पन्न गर्न आह्वान गरेका छन् ।उनले प्रहरीलाई बल प्रयोग नगर्न र आफ्ना समर्थकहरुलाई पनि ढुंगामुढा नहान्न अनुरोध गरिरहेका छन् ।