भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा–रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो ।
काठमाडौंको प्रदर्शनीमार्गमा आज (चैत १५) आयोजित आमसभाअघि विभिन्न ठाउँबाट निकालिएको जुलुस प्रदर्शनीमार्गस्थित सभास्थलमा पुग्नेक्रम सुरु भएको छ ।
गणतन्त्रवादीको प्रदर्शनमा सहभागीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन् ।
समाजवादी मोर्चाका नेता–कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता–कार्यकर्ताहरू आउने क्रमम जारी छ । मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेतृत्व गरेका छन् ।
सभास्थलमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।