प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुखले आइतबार (चैत १७ गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
यसअघि, बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, विपक्षी दलहरूको अडान नछाडेपछि बैठक शुक्रबार दिउँसो १:१५ बजे बस्ने गरी सारिएको थियो । सदन चलाउने विषयमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले आजै शीर्ष दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर, सहमति जुट्न सकेन ।
विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।
यस्तै, कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलको अवरोधका कारण शुक्रबार पनि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
शुक्रबार बसेको बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएको हो । बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । उनीहरूले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म विरोध कायमै रहने धारणा राखेका थिए । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिस्थापन विधेयक अघि बढाउनुपर्ने भएकाले सहज रूपमा बैठक सञ्चालनका लागि आग्रह गरेका थिए ।
उनले राष्ट्रिय सभाको गरिमा कायम राख्नका लागि गम्भीर बन्न समेत आग्रह गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष दाहालले अरू प्रक्रियाबाट समस्या समाधान गर्न ध्यानार्षण गराए पनि विपक्षी दलले विरोध कायमै राखेपछि उनले बैठक स्थगित गरे ।