Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजावादी र गणतन्त्रवादीहरूले गर्ने प्रदर्शनमाथि ओलीको टिप्पणी- साना जुलुस सधैं निस्किन्छन्, हुनेवाला केही छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै पछि त्यसको पछि नलाग्न आग्रह गरेका छन्।

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  १०/१५ हजारको जुलुस नेपालमा सधैँ निस्कँदै आएको बताएका हुन्।

उनले भने, ‘कोही अहिले अगाडि बढेको देशलाई पछाडि फर्काउने काम गर्न खोज्दैछन्, हुने होइन तर अविश्वास, आशङ्का, अन्योल, असुरक्षा भाव गराउँदैछन्। १० १५ हजारको जुलुस न नेपालमा निस्केका निस्कै छन् त।’ उनले भोलिको मोर्चा र राजावादीहरूको प्रदर्शनप्रति व्यङ्ग्य गर्दै तिललाई पहाड बनाउन खोजेको टिप्पणी गरे।

 उनले भने‘यहाँ केही हुँदैछ भनेर भ्रम फैलाइएको छ। केही हुँदैछ भोलि। एउटा भृकुटीमण्डपमा सभा निस्किएर सभा हुन्छ, अर्को कोटेश्वरमा सभा हुन्छ। यस्तो त सधैँ हुने नै हो। यति नै हो भोलि हुने पनि। यहाँ एउटा त्रास छ। केके न हुन्छ भनेर त्यस्तो केही हुँदैन। हामी यस्ता काममा वास्ता नगरेर देश विकासको काममा अघि बढ्छौँ।’

भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन्। त्यस्तै, राजावादी समूहले पनि काठमाडौंमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।