पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकाले अहिलै नै हटाउनु गलत भएको आफ्नो धारणा राखेका छन् ।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बिहीबार घोराहीमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै उनले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने पनि बताए । उनले भने, ‘म भएको भए उनलाई चार महिनाको अवधि पूरा गरेपछि बिदाइ गर्थे , अहिलै उनलाई चलाउनु सही थिएन ।’
संस्थान र प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त अंगहरूमा दलीय हस्तक्षेप र नियन्त्रण हुनु हुँदैन भनेर थिति बसालेको भएपनि पछिल्लो समय त्यो भत्किएको भट्टराईले बताए । उनले यस्ता समस्या विधिले हल गर्नका लागि आफू सरकारको नेतृत्वमा छँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि स्मरण गरेका थिए । पछिल्लो समय त्यो निर्देशन बोर्ड भत्काइएको र चरम दलीय हस्तक्षेपका कारण सरकारको आलोचना भइरहेको उनको भनाइ थियो । कुलमानलाई हटाएकोबारे सरकारले जवाफ दिनुपर्ने उनले बताए ।
यसै सन्दर्भमा उनले नेपालको राजनीति गम्भीर संकटमा रहेको टिप्पणी गर्दै निर्वाचन प्रणालीलाई सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि धारणा राखे । उनले यो व्यवस्था नभएकैले पनि अस्थिरता रहेको बढेको बताए ।