प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरूलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिएका छन् । आज बुधबार काठमाडौंमा युवा संघको स्वयंसेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ राजनीतिक दलहरू सिक्दै अघि बढिरहेको पनि बताए ।
उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रव मच्चाएका थकित तत्वहरूको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरूलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गरे । नयाँ राजनीतिक दलहरूलाई सामन्तवादी प्रणाली पुनःस्थापित गर्नेहरूको पक्षपोषणमा लागेको आरोप लगाए ।
उनले भने, ‘अहिले केही नयाँ निस्किन खोजेका छन्, सिक्दै छन् । गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरूलाई पनि मेरो सुझाव छ । ती हतियार उठेर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रव मच्चाएर, कति मान्छे मारेर, विध्वंश मच्चाएर थाकेका, थकित तत्वहरूको पसिना पुछ्न किन जानुपर्यो ?’ प्रधानमन्त्री ओलीले आफूहरू धैर्यपूर्वक अघि बढ्ने र देश, विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिए ।