Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेपाल एयरलाइन्समा भाडाका जहाज थप्ने तयारी भइरहेको छः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने अन्तिम तयारी भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री पाण्डेले नागरिक उडड्यनको क्षेत्रमा कुनैपनि बेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको दाबी गरे । उडड्यनको क्षेत्रलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न जहाज थप्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

लिजमा जहाज लिएर उडाउने प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री पाणडेको भनाइ छ । उड्डयनको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नेगरी सरकार हवाई नीति ल्याउने तर्खरमा रहेको समेत उनले बताए । विदेशी र स्वदेशी एयरलाइन्सहरूबीच टिकटमा देखिएको असमानता हटाउनको लागि समेत आवश्यक अध्ययन भइरहेको उनले जानकारी दिए ।

‘नागरिक उडड्यनको क्षेत्रमा नेपाल एयरलाइन्सलाई सुचारु बनाउने सन्दर्भमा हामी गहन छलफलमा छौं । कुनै पनि बेला नतिजा आउने गरी हामी छलफलको तदारुकतामा छौं । अब प्लेन नथपिकन कुनै उपाय नै छैन । १० वटा वाइडबडी र १० वटा न्यारोबडी भइदिएमात्र सञ्चालन गर्न सजिलो हुन्छ,’ मन्त्री पाण्डेले भने, ‘सबैतिरबाट सिधा उडानको लागि प्रस्ताव आएका छन् । जुनसुकै देशले पनि ध्वजा वाहक नै चढ्न खोज्ने रहेछन् । नेपालीले त खोज्ने नै भयो, अरुले पनि सम्बन्धित देशमा जाँदा त्यो देशको ध्वजावाहक भयो भने ढुक्क अनुमति गर्दो रहेछ ।’

त्यस्तै, इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको पनि मन्त्री पाण्डेको भनाइ थियो । यी दुई मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको उनले बताएका छन् । मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्ने सम्बन्धी विधेयक चैत १४ गते प्रतिनिधिसभामा प्रस्तुत हुने जानकारी दिए । मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तराष्ट्र्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका सम्बन्धनमा मन्त्रिपरिषद्बाट कार्ययोजना स्वीकृत गराई लागू गरिएको जानकारी दिए ।