Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

निरंकुशता नेपाली जनतालाई स्वीकार्य छैनः राष्ट्रपति पौडेल

‘शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतासँग छ’

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगत बगाएर कमाएको उपलब्धि भएको बताएका छन् । उनले शासनमा बसेर गल्ती गर्नेलाई दण्डित गर्ने अधिकार यो व्यवस्थाले नागरिकलाई दिएको पनि बताएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै उनले हरेक नागरिक यो व्यवस्थामा आफ्नो सार्वभौमसत्ताको मालिक भएको बताए ।

उनले भने, ‘शासन व्यवस्थालाई बलियो बनाउन र यो व्यवस्थाले नै जनताको भविष्य सुनिश्चित गर्छ भन्ने अनुभव गराउन सरकार, राजनीतिक दल र सबैको जिम्मेवारी छ ।’ उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताए । नेपाली जनताले संविधान बाहिरको निरंकुशता वा अराजकता स्वीकार नगर्ने उनको भनाइ थियो । उनले भने, ‘इतिहासले देखाउँछ, १०४ वर्षको राणा शासन होस्, ३० वर्षको पञ्चायत होस् वा सक्रिय राजतन्त्र, जनताले कुनै पनि निरंकुशता रुचाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले सजिलै पाएका होइनौं । यो हजारौंको त्याग, संघर्ष र बलिदानको फल हो ।’

ramchandra poudel-solu2025-03-24-14-38-15.jpg

राष्ट्रपति पौडेलले सभामुख हुँदा सोलुखुम्बु र पूर्वी पहाडका डाँडाकाँडामा पैदल हिँडेर जनतासँग भेटेको सम्झिए । उनले टिम्बुरबोटेको ओडारमा रुझ्दै र भिज्दै पुगेको भावुक अनुभव सुनाए । टिम्बुरबोटे २०४१ मा पञ्चायती सरकारले प्रजातान्त्रिक योद्धाहरूको हत्या गरेको ठाउँ हो । उनको गला अवरुद्ध भएको थियो । उनले युवाहरू विदेश पलायन हुने समस्या रोक्न शिक्षा, स्वास्थ्य, उद्योग, उत्पादन वृद्धि, रोजगारी र गाउँमै आम्दानीको व्यवस्था गर्न जनता केन्द्रित नीति र बजेट चाहिने बताए । विगतका गल्तीबाट सिकेर समृद्ध राष्ट्र बनाउन सबैलाई लाग्न आग्रह गरे ।

उनले संघीयता लागू गर्न तीन तहको सरकार सक्रिय भएको र यो व्यवस्थाले सिंहदरबारको अधिकार गाउँसम्म पुर्‍याएको बताएका छन् । उनले भने, ‘यसलाई सफल बनाउन संविधानको भावनाअनुसार स्थानीय सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ ।’ कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार र उद्योग मुलुक विकासको आधार भएको उनको भनाइ थियो । सोलु र दूधकोशी नदी क्षेत्रका जलविद्युत आयोजनाले आर्थिक विकासमा योगदान गर्ने उनले विश्वास व्यक्त गरे।

उनले भने, ‘सगरमाथा क्षेत्रको हिमाल आरोहण, पदयात्रा र साहसिक गतिविधिले पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान गरेको छ ।’ राष्ट्रपति पौडेलले सगरमाथाको काख अब टाढा नभएकोमा खुशी व्यक्त गरे । अपर सगरमाथा मार्ग निर्माणमा आफ्नो संघर्षको स्मरण गर्दै उनले डोल्पाको दुनैदेखि पूर्वी पहाडसम्म सडक पुगेको बताए । उनले भने, ‘हिजो नुन र तेलका लागि भारी बोकेर हिँड्नु पथ्र्यो, आज त्यो अवस्था बहुदलीय लोकतन्त्रले हटायो । यो परिवर्तन हामीले बिर्सनु हुँदैन ।’