Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

देउवाले पूर्व राजालाई राप्रपाको सभापति बन्न सुझाव दिएपछि ज्ञानेन्द्र आक्रोशित

 सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजतन्त्रवादीहरू आक्रोशित भएका छन् ।

हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पूर्वराजा शाह संबैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिए पछि राजतन्त्रवादीहरू आक्रोशित भएका हुन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले सभापति देउवाको उक्त भनाइ प्रति रोष प्रकट गरेका छन् ।


‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो, माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ, राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नु भएछ,’ शाहीको आक्रोश छ, ‘त्यसो भए हजुर तीन पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग शपथ खाँदै बन्नु भएको हो ? जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापति ज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नु हुन्छ ? हिम्मत छ ?’