Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रचण्डको आरोपः जो भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जो भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ’ भन्ने अभिव्यक्ति दिएका छन् । तराई–मधेश जागरण अभियानअन्तर्गतको आज शनिबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘अहिले त के भएको छ भने जो बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अनि राम्रो काम गर्नेलाई कोपरेको छ, सताएको छ,’ दाहालले भने । अब मुलुक प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने उनले बताए ।

‘अब राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्छ अनि राष्ट्रपतिले विज्ञलाई मन्त्री बनाउनु पर्छ । त्यसपछि विश्वविद्यालयका अनुभवी शिक्षकहरू मन्त्री हुन पाउँछन् । मजदुर आन्दोलनका अनुभवी नेताहरू मन्त्री हुन्छन्। अहिले त जो बढी भ्रष्टाचारी, उही मन्त्री ।’

अहिले नेपाली कांग्रेसका नेता दीपक खड्का ऊर्जामन्त्री छन् । मन्त्री खड्का र माओवादीले विद्युत् प्राधिकरणमा ल्याएका कार्यकारी निर्देशन कुलमान घिसिङबीचको टकराव सतहमा छ । यही पृष्ठभूमिमा दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।