Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

म जीवित रहेसम्म राजावादीको सपना पुरा हुन सम्भव छैनः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोशिस गरिरहेको भन्दै त्यो सम्भव नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले आफू जीवित रहँदासम्म नेपालमा पुनः राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन् ।

आज शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने प्रयास गरेको जिकिर गरे ।

‘यो सरकारका कारणले इतिहासका कुडाकर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरिरहेका छन् । यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन,’ प्रचण्डले भने । उनले आगामी चैत १५ गतेसम्म पुग्दा नपुग्दै त्यो सकिने दाबी गरे। ‘आउने १५ गतेसम्म पुग्दा नपुग्दै त्यो त सकिनै हाल्छ,’ प्रचण्डले भनेका छन् ।

समाजवादी मोर्चामा सहभागी दलहरूले आगामी १५ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । अध्यक्ष प्रचण्डले पछिल्लो पटक आफूहरू जनतासँगको अभियानमा लाग्दा छुट्टै खुशी मिलेको बताएका छन् । ‘काठमाडौंमा फटाहासँग बसेर काम न काजका कुरा गर्दाको थकान र जनतासँग बसेर खाँदा पाउने खुशी यहाँ अनुभूत गर्‍यौं,’ प्रचण्डले भनेका छन् ।