अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएका छन्।
संघीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गर्ने आप्रवासीहरूलाई उनीहरूको कार्य अनुमति र देश निकालाबाट सुरक्षा खारेज हुनुअघि देश छोड्न चेतावनी दिइएको हो।
बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५, ३०,००० आप्रवासीहरूलाई अमेरिका ल्याइएको थियो। यो कार्यक्रम कानुनी बसाइसराइको बाटो खोल्नका लागि थियो। तर ट्रम्पले पदभार ग्रहण गरेपछि उनले कार्यक्रम स्थगित गरे।
यद्यपि, यो अवधिमा यी कति आप्रवासीहरूले अमेरिकामा कानुनी रूपमा बस्न अनुमति दिने अन्य कुनै कानुनी दर्ता प्राप्त गरेका छन् कि छैनन् भन्ने कुरा अझै स्पष्ट छैन।
यो कार्यक्रम पूर्व राष्ट्रपति जो बाइडेनले २०२२ मा सुरु गरेका थिए। पहिले यो भेनेजुएलाका जनताका लागि तयार पारिएको थियो, त्यसपछि पछि धेरै देशहरू यसमा सामेल भए।