Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौंः मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्ने बताएका छन्। राष्ट्रिय सभाको आज शुक्रबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले एउटा वडाबाट अर्को वडामा पानी जान नदिने प्रवृत्ति मौलाएको भन्दै सरकार यसको अन्त्य गर्नको लागि लागिपरेको बताए । उनले सुकेका खानेपानीका मुहनाहरुलाई पुरानै अवस्थामा फर्काउनको लागि प्राथमिकता साथ बजेट विनियोजन गरिने समेत बताए । उनले अहिले २७ प्रतिशत जनसंख्या स्वच्छ खानेपानीको पहुँचमा रहेको भन्दै अबको एक वर्षभित्र यो संख्या बढाएर ५७ प्रतिशत पुर्‍याइने समेत दाबी गरे।

उनले भने, ‘सुकेका खानेपानीका मुहनाहरु नै पुनर्जीवित गर्दै पुरानै संरचनामा पुर्‍याउनको लागि हामी काम गरिरहेका छौं । देशभरैका खानेपानीका मुहानहरुको सुरक्षाको लागि यसपटक खानेपानी मन्त्रालय प्राथमिकताका साथ बजेट विनियोजन गरेर अगाडि बढ्छ । र पानीको मुहना भनेको नेपाल सरकारको हो । त्यसका कसैले दादागिरी गरेर यो वडाबाट त्यो वडामा पानी जान नदिने जुन राजनीति छ त्यो राजनीतिक अबदेखि अन्त्य गर्छौं ।’ उनले आम नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सवालमा सरकार प्रतिवद्ध रहेको बताए ।