Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

फिल्म खेल्ने रहर थियो, ‘द्रौपदी’ले पूरा गरिदियो: रवि ओड (भिडियोसहित)

फिल्म ‘द्रौपदी’मा नारी शसक्तीकरणको आवाजलाई देखाउन खोजिएको छ । लभ र एक्सन हेरिरहेका दर्शकहरुलाई ग्रामीण भेगको कथा फिल्म समेटिएको छ । पक्कै पनि नयाँ टेस्ट छ । द्रौपदी भन्ने महिला पात्रलाई अगाडि ल्याएर नारी शसक्तीकरणको कथा बोकेको प्रभावकारी फिल्म बनेको छ । दुई घन्टा वितेको पत्तै हुँदैन् ।

आकांक्षा धामी  । नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड नायकका रुपमा ठूलो पर्दामा देखिदैछन् । यही चैत ८ गतेदेखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने चलचित्र ‘द्रौपदी’ मा रवि मुख्य कलाकारका रुपमा देखा पर्दैछन् ।  सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएर निकै कठिन र संघर्षपूर्ण सांगीतिक यात्रामा उक्लिएका उनको अभिनय हेर्न शुभेच्छुकहरु व्यग्र प्रतिक्षामा छन् ।

तर उनले अहिले नै आफूलाई नायक भन्न रुचाएका छैनन् । ‘म गायक हुँ र अहिले एउटा फिल्मको पात्र मात्र हुँ । नायक भन्नका लागि फिल्म सफल हुनुपर्छ र दर्शकहरुले नायकका रुपमा ग्रहण गर्नुपर्छ,’ उनले भने,‘गीत गाउँदै हिडिरहेको थिएँ, राम्रो कथाको प्रस्ताव आएकाले फिल्म स्वीकारेको हुँ ।’

Ravi Aod .jpg

वाल्यकालदेखि गायनका लागेकाले गीत गाउन कठिन नहुने तर अभिनयमा भने विल्कुलै नौलो अनुभव संगालेको पनि उनले सुनाए । ‘गीत आइरहेको मान्छे एक्कासी फरक सेक्टरमा आउँदा फरक अनुभव हुने रहेछ । क्यारेक्टरमा जम्न निकै समय लाग्यो । दुई घन्टाको सिनेमाका लागि ४५ दिनसम्म मेहेनत गर्नुपर्यो । एउटा क्यारेक्टरले  जिन्दगी कसरी जिइरहेको छ त्यो जर्नी देखाउन गार्हो पनि रहेछ,’ उनले भने ।

‘द्रौपदीमा मेरो पात्र कुले हो, कुले क्यारेक्टरमा बसिरहन मलाई धेरै गार्हो भयो । द्रौपदी आफैंमा भारी शिर्षक छ । यसमा उठाइएका विषयहरु हाम्रो समाजमा रहेका देउकी प्रथा, सती प्रथा, बहुपति प्रथाको सेरोफेरो समेटिएको छ । सिनेमाको विषयवस्तु राम्रो छ । नारी शसक्तीकरणको आवाजलाई देखाउन खोजिएको छ,’ फिल्मको कथाबस्तुबारे उनले भने,‘लभ र एक्सन हेरिरहेका दर्शकहरुलाई ग्रामीण भेगको कथा समेटिएको छ । पक्कै नयाँ टेस्ट छ । द्रौपदी भन्ने महिला पात्रलाई अगाडि ल्याएर नारी शक्तिकरणको कथा बोकेको प्रभावकारी फिल्म बनेको छ ।’

Ravi Aod 1.jpg

गीत गाइरहेको मान्छे सिनेमा आउनु फरक विषय रहेकाले आफूले धेरै अध्ययन गरेर र तालीम लिएर मात्र अभिनयमा उत्रिएको पनि उनले बताए । ‘मैले राम्रो काम गरेको छु जस्तो लागेको छ । आफ्नो कामप्रति हरेक मान्छे आशावादी हुन्छ । फिल्म अब दर्शकको हातमा गइसकेको छ । म मेरो कामबाट आशावादी छु,’ उनले भने ।

रविको विचारमा गीत संगीत र सिनेमा एक आपसका परिपुरक हुन जस्तो लागेको छ । गीत गाइरहँदा कल्पनामा आफ्नो फोटोहरु ठूलो पर्दामा हेर्न पाए कस्तो हुन्थ्यो होला भन्ने लागिरहने भएपनि द्रौपदीले त्यो पूरा गरिदिएको उनले सुनाए । ‘कल्पनामा मेरो फोटोहरु ठुलो पर्दामा रवि ओड भनेर देख्न पाइयोस । डाइलगहरु सुन्न पाइयोस, आफूलाई हेर्न मान्छेहरु आइदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यो चाहना द्रौपदीको एउटा पात्रले पुरा गरेको छ । हलमा टे«लरहरु बज्दा पनि झसङ्ग हुन्छु । स्टेजमा हजारौ मान्छेको अगाडि गाइयो, बसियो, रमाइलो गरियो तर ठुलो पर्दामा, दुईघन्टासम्म फिल्म हेरिरहेको छु । उत्साहित र खुशी छु,’ उनले भने ।  कतिपय शुभेच्छुकहरुले टे«लर र ट्रिजर हेरेर धन्यवाद पाएको सुनाउँदै उनले भने,‘ अभिनय राम्रो देखिएको छ भनेर धेरैले प्रोत्साहन गरेका छन् ।’ 

Ravi Aod 3.jpg


फिल्ममा ‘कर्णाली काटम्ला माया पिरिम सँगै साटम्ला’ गीत सुन्दा नै फिल्मको स्टोरी बुझ्न सकिने पनि उनले बताए ।  आफूले धेरै संघर्ष गर्दै, लड्दै पड्दै आएकाले एक पटक हार खाँदैमा कमजोर नहुने पनि उनले बताए । ‘म धेरै लडेको व्यक्ति हुँ , संगीत क्षेत्रमा पनि धेरै मेहेनत गरेको मान्छे हुँ । एकपटक हार खाएर पनि फकिएको व्यक्ति हुँ । काठमाडौं आउनुभन्दा अगाडि गायक बन्छु भनेको असफल भएको हुँ । तर पछि नेपाल आइडलजस्तो उच्च मन्च पाएँ । म केही गर्न सक्छु भनेर आफूलाई नियाल्ने अवसर पाए । संघर्षबाट खारिएको व्यक्ति भएकाले फिल्ममा अवश्य सफल हुन्छु,’ उनले भने ।

द्रौपदीमा आफ्नो पात्रलाई मन पराएको खण्डमा गायनसँग अन्य फिल्मको अभिनयमा केन्द्रीत हुनेपनि उनले सुनाए । ‘कुनैपनि सिनेमामा म अगाडि जान सक्छु, आफूलाई त्यो पात्रमा ढाल्न सक्छु भन्ने हिम्मत छ । सुरुको सिनेमा गरौं कि नगरौं भन्ने थियो भने अहिले सक्छु भन्ने आँट छ,’ उनले भने । हालपनि केही फिल्मको स्क्रीप्ट अध्ययन गरिरहेको उनले बताए ।

Ravi Aod 4.jpg

हाल कलाकारिता मात्र नभइ हरेक क्षेत्रमा एक प्रकारको निराशा रहेकाले विदेशिनेक्रम बढेको उनले बताए । तर आफूले कलाकारिता क्षेत्रबाटै स्वदेशमै बसेर परिवार सम्हालिरहेको जानकारी दिए । ‘पहिला त कलेज जान सक्ने अवस्था पनि थिएन, विदेश त सोच्न पनि सकिदैँन् थियो । तर अहिले काबिल भएको छु । यही बसेर अगाडि बढ्न सकौ भन्ने इच्छा छ । भोलिका दिनमा टिक्न सकिएन भने विकल्प निस्किहाल्छ । विदेश नै पनि जानुपर्छ कि भन्न सकिदैन्,’ उनले भने ।

गीत गाउँदै हिडेको केटो अभिनय गरेको फिल्म हेरिदिन पनि उनले अनुरोध गरेका छन् । ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म करिब डेढ महिना डोल्पामा छायांकन गरिएको हो । स्थानीय कला, संस्कृति, सभ्यतासँगै ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई पनि फिल्ममा देखाइएको छ । त्रिपुरासुन्दरी देवीको मन्दिरसँगै शे–फोक्सुन्डोलगायत फिल्ममा हेर्न पाइने ओडले बताए । फिल्ममा डोल्पासँगै मनाङ, मुस्ताङ पनि समेटिएको छ । आश्विनी शाही र रविले फिल्ममा डेब्यु गरेका हुन् ।

Ravi Aod 5.jpg

फिल्मा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । त्यस्तै सौरभ शर्माले पाश्र्वसङ्गीत सृजना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला तथा मोहन झिल्लुले छायाङ्कन गरेका छन् ।