Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

विप्लवले कपडा सिलाएर उद्घाटन गरे 'सी गार्मेन्ट'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कपिलवस्तु जिल्लाको शिवपुरमा रहेको ‘सी गार्मेन्ट’को उद्घाटन गरेका छन्।

उनले सिलाइ मेसिनमा कपडा सिलाएर उद्घाटन गरेका हुन्। गार्मेन्टका सञ्चालक सन्तोषी विश्वकर्माले युवाहरूलाई स्वरोजगार गराउँदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ उद्योग सञ्चालन गरिएको जानकारी दिइन्।

उनले स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्दै युवा पलायन रोक्न गार्मेन्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा महासचिव विप्लवले देशमा आर्थिक नीति स्पष्ट हुन नसक्दा अर्थतन्त्र कमजोर बनेको बताए।

उनले देशभरका युवा रोजगारीको खोजीमा विदेशिनु दुखद् रहेको भन्दै स्वदेशमै स्वरोजगार बन्ने वातावरण सिर्जना गर्न व्यवसायिक सोच आवश्यक रहेको बताए। पार्टी देशभर विभिन्न ठाउमा उत्पादन र स्वरोजगार मुलक काम गरेको जिकिर गरे।

लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले उद्योग जस्ता सकारात्मक कार्यको प्रशंसा गर्दै यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने धारणा राखे। शिवराज नगरपालिकाका प्रमुख अजय थापाले युवामैत्री र स्वरोजगारमूलक उद्योगलाई स्थानीय सरकारको पनि साथ रहने बताए।