अर्थमन्त्री विष्णु पौडेलले सदनलाई आफ्ना कुण्ठा व्यक्त गर्ने थलो नबनाउन आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले तत्काल आवश्यक भएको महसुस गरेर अध्यादेशहरू ल्याएको बताए।
अध्यादेश ल्याउने कुरा संविधान, प्रचलित कानुन, प्रतिनिधि सभाको नियमावली र विगतमा गरेको अभ्यासहरूले दिएका अधिकार भएका भन्दै उहाँले यसलाई निरंकुशता भन्नु कुण्ठा मात्रै भएको बताए ।
‘सरकारले तत्काल आवश्यक भएको महसुस गरेर सदनमा ल्याएको विषय हो, सदनमा ल्याउन पाउँछ, हाम्रो संविधान, प्रचलित कानुन, प्रतिनिधि सभाको नियमावली र हामीले विगतमा गरेको अभ्यासहरूले दिन्छ, त्यस कारण यो लोकतन्त्र हो, सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु र निर्णय गर्नु निरङ्कुशता हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने जङ्गली राज तर्फ जाने यस्तो व्याख्या नगर्न म आग्रह गर्न चाहन्छु’, उनले भने ।
उनले अध्यादेश ल्याउनु ठिक थियो वा गलत थियो भन्ने कुराको निर्णय सांसदले नै गर्ने स्पष्ट पारे । ‘सदनमा छलफल भइरहेको छ, सदनले निर्णय गर्ने छ, यो सदनले चाहने हो भने अस्वीकार गर्न सक्छ, त्यस कारण यो सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुँदैन, विचार व्यक्त गर्ने थलो बनाउनु पर्छ’, उनले भने । उनले सबै प्रक्रिया पुरा गरेर सरकारले अध्यादेश ल्याएको पनि बताए । ‘नियमावलीमा रहेको नियमलाई पालना गरेका छौँ, तदनुरूप नै यो प्रस्ताव सदन समक्ष आएको छ त्यस कारण प्रक्रियाको दृष्टिले त्रुटिपूर्ण छ भन्ने अभिव्यक्तिमा सच्चाई छैन’, उनले भने ।