Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कुलमानलाई स्पष्टीकरण र कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएकोमा माओवादीले जनायो आपति

 प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनको विषयलाई लिएर संसदमा विरोध जनाएको छ । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङले कार्यसम्पादन मूल्यांकनको शून्य अंक राखेको भन्दै विरोध गरेका हुन् ।

‘सरकारलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्पष्टीकरण सोध्ने कुरा आइरहेको छ । विद्युत् प्राधिकरण नाफामा गइरहेको समयमा कार्यसम्पादन मूल्यांकनको शून्य अंक रहेको मिडियामा आइरहेको छ’, उनले भने, ‘विद्युतलाई नाफामा लगिरहेको समयमा शून्य अंक के हो ? ठिक ढंगले विद्युत प्राधिकरणमा काम गरिरहेको समयमा शून्य अंक के हो ? आज, भोलि, पर्सी स्पष्टीकरण केहो ? सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’


उनले सभामुखमार्फत रुलिङ गर्न समेत माग गरे । उनले सभामुखमार्फत सरकारलाई रुलिङ नगरे सदन चल्न नदिने उल्लेख गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हो । कुलमानले प्राधिकरणमा दोस्रो कार्यकालको तेस्रो आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएको ऊर्जा मन्त्रालय सचिवालयले जानकारी दिएको छ ।

तोकिएको समयभन्दा ढिला कार्यसम्पादन प्रतिवेदन बुझाएका कारण कुलमानलाई शून्य अंक दिइएको सचिवालय बताउँछ। मन्त्रालयले यही पुस २२ गते कुलमानलाई स्पष्टीकरण सोध्दै कार्यसम्पादन मूल्यांकन नबुझाएको बारेमा लिखित प्रश्न सोधेको थियो ।