Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एमालेलाई कुनै पनि राजनीतिक घटनाले विचलित तुल्याउन सक्दैनः पूर्व राष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री केपी ओलीले थप योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । ‘केपी शर्मा ओली स् सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण गर्दै पूर्व राष्ट्रपति भण्डारीले गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ओलीले खेलेको भूमिकाको सराहना गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन थप योगदान गर्ने विश्वास व्यक्त गरिन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेता मात्र नभएर राजनेता भएको बताएकी छिन्। भण्डारीले ओली स्वप्नद्रष्टा नेता भएको बताएकी हुन् । आफू राष्ट्रपति भएको बेला ओली प्रधानमन्त्री हुँदा निक्कै समन्वयात्मक भूमिका खेलेको भण्डारीले स्मरण गरिन् । ओलीमा देश र समाजको विकास प्रतिको तीब्र हुटहुटी भएको भण्डारीको भनाइ छ ।


‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनु भएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिका, महाभूकम्पले भत्कारएका संरचना बनाउन देखाउनु भएको सक्रियता र त्यसमा प्राप्त भएको सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितहरुको उपचारमा देखिएको प्रभाकारिता एवं आर्थिक समृद्धि हाँसिल गर्न उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु’, भण्डारीले भनिन् ।

भण्डारीले ओली आर्थिक, सामाजिक अभियानको कुशल अभियन्ता भएको बताइन् । ओलीमा तुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका भएको भण्डारीको टिप्पणी छ । ओली एक कुशल योजनाकार, संगठक र रणनीतिकार भएको उनको भनाइ छ । उनले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको स्मरण गरिन् ।

राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात गर्नुपर्ने उनले बताइन् । भण्डारीले बहुलबाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक, आर्थिक, रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन् ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो । पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरूका लेख(रचना समेत समावेश गरिएको छ। सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो।