Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ओलीको प्रशंसा गर्दै विद्या भण्डारीले भनिन्- उहाँ अब्बल र लोकप्रिय राजनेता हुनुहुन्छ

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएकी छन् । सोमबार पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीस् सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको लोर्कापर्ण समारोहलाई सम्बोधन गर्दै भण्डारीले कोरोना महामारी, मुलुकको आर्थिक विकास र समग्र राजनीतिक अवस्थामा ओलीले खेलेको भूमिकाको प्रसंसा गर्दै राजनेताको संज्ञा दिएकी हुन् ।

भण्डारीले भनिन् ‘मुलुकको आर्थिक समृद्धिका लागि उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु । उहाँको प्रभावकारी कार्यक्षमता र कार्यकुशलताको मुलुकले भरपूर उपयोग गर्नुपर्दछ । अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति सिर्जजनशील क्षमताका धनि प्रधानमन्त्री केपी शर्मा ओली एक अब्बल नेता र लोकप्रिय राजनेता हुनुहुन्छ । उहाँले आफ्नो आश्था निष्ठा को प्रतिमुर्तीको रुपमा अड्याउन सफल हुनुभएको छ’ ।

उनले आफूलाई आस्था अडान र निष्ठाको प्रतिमूर्तिको रुपमा उभ्याउन सफल रहेको सुनाइन् । उनले ओली एक कुशल रणनीतिकार समेत भएको बताइन् । ओलीले आफूलाई आस्था, अडान र निष्ठाको प्रतिमूर्तिको रुपमा उभ्याउन सफल भएको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।

भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनभन्दा अगाडि एमालेको उपाध्यक्ष थिईन् । उनी पुनः एमालेको सक्रिय राजनीतिमा फर्किने बारेमा पनि गाइँगुइँ चल्ने गरेको छ । पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई आवश्यकताअनुसार व्यवहारमा अधिकतम् लचकता अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतिफर्त लैजानसक्ने खुबी भएको नेता र एक कुशल रणनीतिकारको रुपमा प्रशंसा गरिन् ।

उनले राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शतालाई गहिरोसँग आत्मसात् गर्नुपर्ने बताईन् । पूर्वराष्ट्रपति भण्डारीले एमालेले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने लक्ष्य लिएको बताईन् । उनले एमालेलाई कुनैपनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन नसक्ने, जनआधारित, अनुशासित कार्यकर्ता–सदस्यहरुको विस्तारित पंत्ति र अनुभवी, संयमित र दृढ संकल्प भएका नेताहरुबाट नेतृत्व भइरहेको पार्टीको रुपमा प्रशंसा गरिन् । मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तन गर्न एमालेको महत्वपूर्ण योगदान रहेको उनको दाबी छ ।

एमाले अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन, गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गरेको भूमिका सराहनायोग्य रहेको पूर्व राष्ट्रपति भण्डारीले बताईन् । उनले भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी कायम राख्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध बनाएर सफलतानको सिँढी उकाल्न ओलीबाट योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

जननेता मदन भण्डारीले अगाडि सारेको नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादलाई एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा आत्मसात् गरेको स्मरण गराउँदै उनले जबजको मार्गदर्शनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गरी सामाजिक न्यायसहितको सुदृढ अर्थतन्त्र विकास गर्ने संकल्प गरेको बताईन् । उनले जबजको प्रभावकारी कार्यान्वयनको लागि नेतृत्व गर्ने ओलीको कदम सराहनीय रहेको बताईन् ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने गाइँगुइँलाई आज उनले दिएको अभिव्यक्तिले थप पुष्टि गरेको छ । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ माओवादीको सक्रिय राजनीतिमा फर्किएसँगै पूर्व राष्ट्रपति भण्डारी पनि एमालेको नेतृत्व सम्हाल्नेगरी पार्टीमा आउन आँतुर देखिन्छिन् ।

ओली पक्षधर नेताहरुले राजनीतिमा भण्डारीको पुनरागमन ओलीसँगको समझदारीमा मात्रै सम्भव रहेको बताइरहेका छन् । एमालेमा ओलीको दाउपेचमा परेका, हेपिएका, चेपिएका र दविएका नेताहरुले भने भण्डारीलाई नेतृत्वमा ल्याउन जोडबल गरिरहेका छन् । सक्रिय राजनीतिमा फर्किन ‘पर्ख र हेर’ को अवस्थामा रहेकी भण्डारीले पनि आज आफूले पाएको मञ्च ओलीकै गुणगान गाउन र पार्टीको बखान गर्नमा खर्चिएकी छन् ।