Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

विश्व सम्पदा सूचीमा सूचीकृत प्रताप मल्लका दुई मन्दिरको जीर्णोद्वार

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्वार सम्पन्न भएको छ । स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्किएर जोखिममा परेपछि करिब एक वर्षको समयावधिमा आवश्यक मर्मतसम्भार तथा जीर्णोद्वार गरेको हो।

पुरातत्व विभागले पुरानै स्वरूपमा मर्मत गर्नका लागि महासमितिलाई अनुमति दिएपछि नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार तथा रङ्ग रोङ्गगनको कार्य पूरा गरेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । विसं २०७२ सालको भूकम्पका कारण सो मन्दिरमा क्षति पुगेको थियो । प्रताप मल्लले निर्माण गरेको ती सम्पदा ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदास्थल हुन् ।


राजा प्रताप मल्लले आफ्नो नामबाट सो मन्दिरलाई प्रतापपुर राख्न लगाएका थिए भने रानी अनन्तप्रियाको सम्झनामा अनन्तपुर मन्दिर निर्माण गराएको इतिहास पाइन्छ । त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्त्वका अन्य सम्पदा जीर्णोद्वारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए। ती सम्पदाको यसअघि आगलागी र चट्याङका कारण क्षति पुगेपछि जीर्णोद्वार गरिएको थियो ।

महासमितिले स्थानीय जात्रा पर्व मेला सञ्चालन तथा स्वयम्भू क्षेत्रको जङ्गल संरक्षणका लागि बिरुवा रोप्ने तथा पार्कको सजावट गर्दै आएको छ । महासमितिका इन्जिनियर राजेश सुवालले करिब २० लाखको लागतमा ती सम्पदाको जीर्णोद्वार गरिएको बताउँदै महाचैत्य आसपास क्षेत्रमा रहेको अन्य सम्पदा मर्मतका लागि अध्ययन भइरहेको जानकारी गराए ।