Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

जन्मदर्ता गरे बच्चाको खातामा पाँच हजार

जन्मदर्ता प्रोत्साहन गर्न स्याङ्जाको भीरकोट नगरपालिका–८ ले बच्चा जन्मेपछि खाता खोलेर रु पाँच हजार जम्मा गरिदिने अभियान थालेको छ ।

वडा कार्यालयले चालु आर्थिक वर्षदेखि अभियान थालेको हो । बच्चा जन्मेपछि ८ नं वडा कार्यालयमा जन्मदर्ता गर्ने सबै नवजात शिशुहरुका लागि लागू हुने गरी वडा कार्यालयले पाँच हजार र अभिभावकले पाँच हजार गरी कुल १० हजार खातामा जम्मा गरिदिने वडा अध्यक्ष नन्दलाल खनालले बताए ।

शिशुको खातामा जम्मा भएको रकम बच्चाको उमेर १८ वर्ष पूरा भएपछि मात्र अभिभावकले परिवारले निकाल्न पाउने व्यवस्था गरिएको उनले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म वडा कार्यालयमा ३१ जना बालबालिकाको जन्मदर्ता भएको छ । खाता खोल्ने अभियानसँगसँगै वडा कार्यालयले भालेसहित सुत्केरी भेटघाट, न्यानो भोटो वितरणजस्तालाई निरन्तरता दिएको छ ।

“सुनौला हजार दिनका आमा र शिशुको स्वास्थ्य तथा पोषणमा ध्यान दिँदै वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु घर–घरमा पुग्छौँ,” उनले भने, “स्वास्थ्यसम्बन्धी परामर्श पनि दिने गरेका छौँ ।”