Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

नेपाल आएका बफोनले भने–फरक झण्डा देखेर सानैदेखि उत्सुक थिएँ

इटालियन स्टार गोलरक्षक जियानलुइजी बफोनले नेपाल आउन पाउँदा आफ्नो लागि सपना पूरा भएको बताएका छन् । तेस्रो संस्करणको केपी ओली कप २०२५ को फाइनलमा सहभागी हुन उनी आज नेपाल आइपुगेका हुन्।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै बफोनले नेपालको झण्डा निकै फरक भएका कारण नेपाल आउन उत्सुक रहेको बताए । २८ वर्ष लामो करिअरमा निकै चर्चा कमाएका बफोनले भने, ‘मैले लामो समय खेल्न निकै मेहनत गरेको छु ।’ आफ्नो कामलाई माया गर्दै यहाँसम्म आइपुगेको हुँ ।’

आफू पहिलो पटक नेपाल आएको र अर्को पटक पनि नेपाल आउन चाहेको उनले बताए । ‘मलाई आशा छ । पहिलो प्राथमिकता भनेको केपी ओली कपको फाइनलमा सहभागी हुनु हो । त्यसपछि म नेपाल अर्को पटक पनि आउन चाहन्छु । त्यो बेला म शहर घुम्न पनि चाहन्छु । मन्दिरहरू हेर्न चाहन्छु । म अर्को पटक आउने मौका चाहन्छु ।’


उनलाई पत्रकार सम्मेलनको क्रममा विश्वका दुई चर्चित स्टार मेस्सी र रोनाल्डोको बारेमा समेत प्रश्न गरिएको थियो । उत्तरमा उनले भने, ‘मलाई थाहा छैन । मेस्सी, रोनाल्डो, म्यारडोना या पेले भनेर भन्न सक्दिनँ । उहाँहरु सबैले फुटबलमा एउटा फरक इतिहास बनाउनु भएको छ ।’ उनले नेपाली फुटबलले लामो दूरी तय गर्न अझ धेरै भौतिक पूर्वाधार र फुटबल खेल्ने वातावरण हुनुपर्ने बताए । ‘नेपाली फुटबललाई अगाडि बढाउन धेरै पूर्वाधारहरू हुनुपर्छ । धेरै युवा खेलाडीलाई फुटबल खेल्ने माहोल सिर्जना हुनुपर्छ ।’