Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ट्रम्पसँग चर्काचर्कीपछि बेलायत पुगे जेलेन्स्की, २.२६ अर्ब पाउण्ड सहायता पाउने

रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्काचर्की बहसपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन् ।

शनिबार साँझ बेलायत पुगेका जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेको छन् । इंग्ल्याण्डको १० डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई ‘बेलायतको पूर्ण समर्थन’ रहेको बताएका छन् ।

बेलायत पुगेपछि जेलेन्स्कीले केयर स्टारमरलाई आफ्नो देशले ‘युक्रेनी साथीहरू’ पाएकोमा खुसी भएको बताएको बीबीसीले उल्लेख गरेको छ । जेलेन्स्कीले यस युद्धमा आफ्नो साथ दिएकोमा बेलायतलाई धन्यवाद पनि दिएका छन् ।

जेलेन्स्की र केयर स्टारमरले युक्रेनी सैन्य आपूर्तिको लागि २.२६ अर्ब पाउण्ड सहायतामा हस्ताक्षर गरेका छन् । यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटेका थिए । दुई नेताहरूबीचको कुराकानी चर्को बहसमा परिणत भएको थियो ।

केयर स्टारमरले आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलनको आयोजना गर्दैछन् । जहाँ रूस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासहरू साथै व्यापक युरोपेली सुरक्षाको बारेमा छलफल गरिने समाचारमा जनाइएको छ । जेलेन्स्कीले बेलायतका राजा चाल्र्स तृतीयलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।