Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रिङ्कु सदाको घरमा प्रचण्डः न्याय दिलाउन सहयोग गर्छौं

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनतासँग माओवादी तराई–मधेश जागरण अभियानको क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू रिङ्कुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । सामुहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन् ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले रिङ्कुको न्यायका लागि संसद्मा आवाज उठाएको जानकारी दिँदै जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी गराएको उल्लेख गर्दै उनले छानबिनलाई चाँडो निष्कर्षमा पुर्‍याउन प्रहरीलाई आग्रह गरिएको बताए ।

रिङ्कुको न्यायका लागि मुसहर समुदायले गरिरहेको संघर्षप्रति पनि उनले एक्यवद्धता जनाए । रिङ्कुकै घरमा संघर्ष समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई–मधेशका विभेद, अपमान र अत्याचारविरुद्ध आवाज उठाउन नै पार्टीले अभियान सञ्चालन गरेको बताए ।

बलात्कार जस्तो जघन्य अपराधमा तत्काल पीडितलाई न्यायका लागि पहल गर्नुको साटो गाउँमै मिलापत्र गराउन खोज्नु राष्ट्रकै लागि लज्जास्पद घटना भएको उनले बताए । रिङ्कु मृत्यु प्रकरणमा प्रहरीले अहिले कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा अनुसन्धान गरिरहेको छ ।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको थियो । माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् ।