काठमाडौंको सुकेधारमा शव भेटिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको मेलुङ्ग गाउँपालिका–६ का २९ वर्षीय विराट ठकुरी छन् । उनलाई शुक्रबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।
ओखलढुंगा घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ५० वर्षीय अड्वीर राईको हत्या भएको थियो । उनको शव बुधबार साँझ सवा ८ बजे उनको शव सुकेधारामा फोहोरको थुप्रोले पुरेको अवस्थामा भेटिएको थियो । उनको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको चोट थियो ।
मृतक राई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति हुन्। पक्राउ परेका ठकुरीलाई आइतबार म्याद थपका लागि अदालत लैजाने तयारी प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए । उनको शव भेटिएलगत्तै यसमा मायाको पहिचान नेपाल लगायतका संस्थाले गम्भीरतापूर्वक अनुसन्धानको माग गरेका थिए ।