देउवा र शेखर कोइराला दुई गुटबीच झडप हुँदा दुईजना घाइते
कोशी प्रदेशको राजधानी सहर विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका दुई गुटबीच झडप भएको छ। महेन्द्र मोरङ क्याम्सपमा सभापति शेरबहादुर देउवा पक्षीय र नेता डा. शेखर कोइराला पक्षीय दुई गुटबीच झडप हुँदा दुईजना विद्यार्थी नेता घाइते भएका छन् ।
उक्त झडपका क्रममा नेविसंघ मोरङका सभापति सरोज पोखरेल घाइते भएका छन् । बिहीबार पोखरेल र चुले भाइ उपनामका आयुष दाहालसहितका कार्यकर्ता क्याम्पस इकाइ गठन गर्न पुगेका थिए । तर, नेविसंघ नेता एवम् क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहितको अर्को समूहले उनीहरूमाथि आक्रमण गरेको हो ।
पौडेलले आफूहरूले स्वीकृति नै नदिएको अवस्थामा क्याम्पस इकाइ कमिटी बनाउन आएको भन्दै आफ्ना समर्थकहरूको सहयोगमा घरेलु हतियारहरू बञ्चरो, तरबार र लाठीसहित लिएर जाइ लागेका थिए । क्याम्पसमा भएको यो घमासानमा उत्रिएका स्ववियु सभापति पौडेल देउवा गुटका हुन् । उता पोखरेल कोइराला गुकका हुन् ।
दुई पक्षबीच लखेटा लखेटसहित झगडा हुँदा नेविसंघ जिल्ला सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरू दुवैको अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । नेविसंघकै कार्यकर्ताहरू र प्रत्यक्षदर्शीका अनुसार पोखरेल र दाहालमाथि जसवन्त पौडेल, स्ववियु सचिव एलिश ठकुरी, सदस्यहरू प्रशान्त यादवसहित खनिएका थिए ।
यसबारेमा प्रहरीले जानकारी पाएपछि अनुसन्धान थालिएको जनाएको छ ।