संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक भावले मानिसलाई अनुशासित बनाउने भएकाले यसले लोकतान्त्रिक गणतन्त्रलाई पनि मजबुत बनाउँदै लैजाने बताएका छन् ।
आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल ९रेक्जोन०को शुभारम्भ गर्दै उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भावको आवश्यकता पर्ने बताए । धार्मिक भावले मानिसलाई अनुशासित बनाउने भएकाले विद्यमान व्यवस्थाका सकारात्मक पक्षलाई संरक्षण गर्न प्रेरित गर्ने उनको भनाइ छ । ‘धार्मिक र लोकतान्त्रिक भावले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सकारात्मक उपलब्धि संरक्षण गर्न सबैलाई प्रेरित गर्छ। यसले मुलुकको लोकतान्त्रिक प्रणाली थप मजबुत हुँदै जान्छ’, मन्त्री पाण्डेले भने ।
‘पशुपति क्षेत्रमा आउनेहरू धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेहरूले जताततै फोहर गर्नुभएन, आफूले गरेको फोहर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ भन्ने बुझ्नु भएको हुन्छ । यही कारणले उहाँहरूमा आत्मानुशासन हुन्छ । कतिपय देशका सडकमा ट्राफिक बस्नु पर्दैन, हामी पनि धार्मिक र लोकतान्त्रिक भाव अवलम्बन गर्दै सकारात्मक मार्गमा अघि बढ्नुपर्छ’, उनले भने । पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाताहरू आउन थालेका उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको जानकारी दिए ।
‘दाताबाट दानमा सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएकाले समिति निर्माण गरेका छौँ । समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी प्राप्त सुनको सदुपयोगका विषयमा कार्ययोजना र कार्यविधि निर्माण गर्नेछ’, कोष सञ्चालक परिषद्को अध्यक्ष समेत रहेका उनले भने ।
धर्म र संस्कृतिका क्षेत्रमा कलम चलाउने पत्रकार अरुका तुलनामा अनुशासित र उदाहरणीय बन्नुपर्नेमा मन्त्री पाण्डले जोड दिए । धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत सञ्चारकर्मीले मुलुकका ऐतिहासिक र पौराणिक स्थलको महत्वका बारेमा आमनागरिक र विश्वलाई जानकारी दिनेगरी समाचार संकलन र सम्प्रेषण गर्नु जरुरी रहेको उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले विधागत पत्रकारितामा कार्यरत पत्रकार संगठित हुने क्रममा धर्म, संस्कृतिका विषयमा कलम चलाउनेको पनि संस्था खुल्नु स्वागतयोग्य रहेको बताए । समाजलाई पत्रकार महासंघको एसोशियट संस्थाका रूपमा अघि बढाउन पनि उनले आग्रह गरे । काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष एवं संस्कृति, सम्पदा तथा पर्यटन विषयगत समितिका संयोजक आशामान सँगतले पशुपति क्षेत्रलाई सधैँ सिँगार्ने गरी व्यवस्था मिलाउन अनुरोध गरे । पशुपतिनाथमा सधैँ पर्यटक आउने वातावरण निर्माण गर्न यस क्षेत्रमा कार्यरत सञ्चारकर्मीको सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवद्र्धन महाशाखाका प्रमुख डा। वंशदीप शर्मा खरेलले अथर्ववेदको उपवेदका रूपमा रहेको आयुर्वेद सनातन चिकित्सा पद्धति हो भन्दै यसको विशेष संरक्षण र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । सनातन विद्वत् परिषद् नेपालका उपाध्यक्ष प्रा डा माधवप्रसाद पाण्डेयले धर्म, संस्कार र संस्कृतिको मूल स्वरुप बिर्सन थालिएको वर्तमान समाजलाई धार्मिक, सांस्कृतिक पत्रकारले सम्झाउने गरी काम गर्नुपर्नेमा जोड दिए । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीले मौलिक धर्म, संस्कृतिको संरक्षणका लागि पत्रकारको संस्थाले काम गर्नुपर्ने बताए ।
समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले विसं २०७६ देखि अनौपचारिक मञ्चका रूपमा काम गरिसकेपछि धर्म, संस्कृतिका विषयमा कलम चलाउने पत्रकारको अनुरोधअनुसार वैधानिक संस्थाको स्वरुप दिइएको बताए । कार्यक्रममा समाजका महासचिव अच्युत अर्याल, सदस्य अच्युतप्रसाद सुवेदीलगायतले धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई एकतृत गरी संस्था अघि बढ्नेमा जोड दिएका थिए ।