बंगलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले देश खतरामा रहेको बताएका छन् । सेनाले आयोजना गरेको एक कार्यक्रममा सेना प्रमुख जनरल उज–जमानले बंगलादेशमा पछिल्लो समय भएका घटनाक्रमले देश खतरामा रहेको बताएका हुन् । त्यसकारण तत्काल राष्ट्रिय एकता र संस्थागत अनुशासन अपरिहार्य रहेको पनि उनले बताएका छन् ।
‘समाजमा निरन्तर र द्रुत गतिमा बढ्दो आन्तरिक कलहले बंगलादेशको सार्वभौमसत्ता ठूलो जोखिममा परेको छ,’ उनले भने । बंगलादेशमा विद्यार्थीहरले सुरू गरेको देशव्यापी प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी थिइन् । अहिले उनी भारतको शरणमा छिन् भने बंगलादेशमा मोहम्मद युनुसको अन्तरिम सरकार छ ।
हसिनाको बहिर्गमन र अन्तरिम सरकार गठनपछि बंगलादेश शान्त हुने अनुमान थियो । तर युनुस नेतृत्वको सरकार बनेपछि पनि त्यहाँ प्रदर्शनहरू भइरहेका छन् । फेब्रअरीदेखि त्यस्तो प्रदर्शनले अझै ठूलो रूप लिएको छ । राष्ट्रिय एकता आवश्यक रहेको बेला आफू–आफू लड्ने र दोष एक अर्कालाई दिन खोज्दा बंगलादेशको भलो नचाहने र अहिलेको अवस्था नचाहेकाहरूका लागि अनुकूल परिस्थिति बन्ने खतरा रहेको पनि जनरल उज–जमानको भनाइ छ । उनले अहिले बंगलादेशमा अराजकता मौलाएको र त्यसलाई निस्तेज गर्न प्रहरी प्रशासन पनि कमजोर रहेको बताएका छन् ।
राजनीतिक परिवर्तनपछि सबै एकताबद्ध भएर अन्तरिम सरकारलाई सहयोग गर्नुपर्ने उनले बताए । तर आफै आफै लडेर भयानक परिस्थिति सिर्जना गर्न नहुने उनको भनाइ छ । ‘म तपाईहरू (सम्पूर्ण बंगलादेशी) लाई चेतावनी दिन्छु,’ उनले भने, ‘यदि तपाईंहरू आफ्ना मतभेदहरू भन्दा बाहिर जान सक्नु हुन्न र आपसमा हस्तक्षेप र लडाइँ जारी राख्नु हुन्छ । मर्ने, मार्ने र घाइते बनाउने काम जारी राख्न हुन्छ भने देशको अखण्डता र स्वतन्त्रता जोखिममा पर्नेछ,’ उनले भने ।
बंगलादेशमा पछिल्ला केही महिनाहरूमा हिंसा, तोडफोड, दंगा र अन्य प्रकारका आपराधिक गतिविधिहरूमा वृद्धि भएको छ । फेब्रुअरीसम्म प्रदर्शन चरम सिमामा पुगेपछि सुरक्षा बलले ’अपरेशन डेभिल हन्ट’ चलाएको थियो । उक्त अपरेशनमा ८ हजार ६ सय जना पक्राउ परेका थिए । बंगलादेशको राजनीतिक उथलपुथल हुँद पटक पटक सेनाले शासन सत्ता हातमा लिएका लामो इतिहास छ । हसिनाको बहिर्गमनपछि त्यहाँका नागरिहरहरूले सैनिक शासन नस्वीकार्ने भनेर नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वमा सरकार बनाएका थिए ।