तराई–मधेश जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही घण्टाका लागि मात्रै काठमाडौं आइपुगेका छन् ।
पार्टीले सञ्चालन गरेको अभियानको क्रममा कोशी प्रदेशको विराटनगरमा रहेका प्रचण्ड बुधबार दिउँसो केहि घण्टाका लागि काठमाडौँ आइपुगेका हुन् । उनी साँझ ५ बजे विराटनगर नै फर्किने बताइएको छ । विराटनगरबाट उनी सुनसरी पुग्नेछन् । काठमाडौँमा रहँदा प्रचण्ड दिलबहादुर रम्तेल स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रम पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदैछ ।
‘आज शिवरात्रि भएकोले अभियानअन्तर्गतका कार्यक्रमहरू खाली राखिएको थियो,’ प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले सुनाए, ‘दिलबहादुर रम्तेलको स्मृति पनि हो। आजैदेखि पार्टीले सहिद सप्ताह पनि सुरु गरेको छ । उहाँले पार्टी कार्यालयमा उक्त कार्यक्रम पनि उद्घाटन गर्नुभयो ।’
आजै प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा दलको नेताका विषयलाई लिएर भइरहेको विवादबारे पनि खगराज भट्टसहितका नेतासँग पेरिसडाँडामै छलफल गर्नेछन् । त्यस्तै उनले पार्टीअन्तर्गत उपत्यका सम्पर्क प्रदेशको विषयमा पनि आन्तरिक छलफल गर्ने आचार्यको भनाइ छ ।