राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम थाइल्यान्डको राजधानी बैंकक उडेकी छन्। थाई एअरवेजको उडान नम्बर टीजी ३२० मार्फत मंगलबार दिउँसो साढे २ बजे बैंकक गएकी उनी केहीदिनमै स्वदेश फर्किने छिन्।
उनी उपचारका लागि थाइल्यान्ड गएको रास्वपा स्रोतले बताएको छ। गत माघ ३ गते उनी उपचारका लागि नयाँदिल्ली गएकी थिइन्। अहिले थप उपचारका लागि उनी थाइल्यान्ड गएकी हुन्।
तर, सोविताकी स्वकीय सचिव प्रकृति न्यौपानेले भने उनी एनजीओको कार्यक्रममा थाइल्यान्ड गएको बताइन्। उनी उपचारका लागि गएको बारे न्यौपानेलाई कुनै जानकारी छैन।
उनी भन्छिन्, ‘एनजीओको कार्यक्रममा थाइल्यान्ड जानु भएको हो। स्वास्थ्य उपचारबारे मलाई जानकारी छैन।’ सोविताको बैंकक भ्रमणबारे रास्वपाको संसदीय फाँटका पदाधिकारी पनि अनभिज्ञ छन्।
रास्वपाकी एक सांसद भन्छिन्, ‘किन थाइल्यान्ड जानुभयो हामीलाई थाहा छैन। यसबारेमा संसदीय दललाई पनि जानकारी नगराएको बुझिएको छ।’