सत्तारुढ नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले सहीदहरुको अपमान र प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले प्रजातन्त्र दिवसका दिन पूर्वराजा शाहले सार्वजनिक गरेको भिडिओ सन्देशले सहीदहरूको अपमान गरेको समेत बताए ।
‘फागुन ७ गते पूर्वराजाले नेपालका सहीदहरू, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने सहीदहरूप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरे,’ उनले भने। शाहले संविधान उल्लंघन र निरंकुशता लाद्ने काम गरेकै कारण राजतन्त्र समाप्त भएको पनि उनले बताए।
‘संविधान र यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस् । हामीलाई कुनै आपत्ति छैन् ।’ गैरेले भने, ‘राजा ज्ञानेन्द्रले संविधान उल्लंघन गर्ने कोशिस गरे । संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोशिस गरे। निरंकुशता लाद्ने र दलहरूलाई बन्देज लगाउने कोशिस गरे । त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो।’