Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

झोँक्किएर कार्यक्रम छाडेर हिँडेका नारायणकाजी श्रेष्ठले मागे माफी, के भएको थियो?

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् ।

आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको आग्रहमा आफूले उद्‌घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको जानकारी दिए । उक्त घटनालाई सामान्य रुपमा लिन आग्रह गर्दै श्रेष्ठले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकतावद्ध ढङ्गले अघि बढाउन प्रतिवद्ध रहेको समेत बताए ।

त्यस्तै, उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूकाे भावनालाई सकारात्मक रुपमा लिँदै सार्वजनिक रुपमा नै क्षमायाचना गर्न चाहेको उनको भनाइ थियो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढङ्गले सफल हुने जिकिर गरे । श्रेष्ठले सरकारले निरङ्कुश ढङ्गले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राखे ।  

के भएको थियो? 

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित भएर सोमबार सुरु गरेको ‘जनतासँग माओवादी : तराई मधेस जागरण अभियान’अन्तर्गत झापाको कचनाकबलमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ झोँक्किएर कार्यक्रम छाडेर हिँडेका थिए । 

उक्त कार्यक्रममा माओवादीका अन्य पदाधिकारी बोल्ने क्रम सकिएपछि अध्यक्षभन्दा अघि श्रेष्ठको बोल्ने पालो आएको थियो । बोल्नेक्रममा श्रेष्ठले संविधानसभाबाट संविधान बनाउने मुद्दादेखि त्यसबाट प्राप्त उपलब्धिसहितका विषय राखेका थिए । श्रेष्ठले कुरा राख्दै गर्दा कार्यक्रमका उद्घोषक माओवादी केन्द्र झापाका अध्यक्ष राज आचार्य रोस्ट्रमनजिक पुगेर उभिएपछि उनी झोँक्किएका थिए ।  

श्रेष्ठले कुरा राख्दै गर्दा कार्यक्रमका उद्घोषक माओवादी केन्द्र झापाका अध्यक्ष राज आचार्य रोस्ट्रमनजिक पुगेर उभिएपछि उनी झोँक्किएका थिए ।  आचार्यतर्फ हेर्दै श्रेष्ठ कड्किएका थिए, “तपाईं मलाई सम्बोधन सक्नुस् भन्न आउनुभएको हो ? हो भने भन्नुस्, म जान्छु ।’ 

श्रेष्ठले त्यसरी कड्किएर झोँक्किदै प्रश्न गर्दा त्यस्तो नभएको बताएका थिए । आचार्यले भनेका थिए, “होइन, त्यस्तो होइन ।”

उनले होइन भनेपछि श्रेष्ठले जंगिँदै भने, “होइन भने किन अगाडि उभिन आउनुभएको ?” 

श्रेष्ठ झोँक्किएपछि उनी पछाडितर्फ लागे । तर, श्रेष्ठको आक्रोश शान्त भएन । 

“समयको चाप छ, म थोरै कुरा भन्न चाहन्थेँ,” दर्शकदीर्घातिर हेरेर उनले भने, “कार्यक्रम सञ्चालकलाई समयको चाप भयो होला, म बिदा चाहन्छु, लाल सलाम !”

नारायणकाजीले त्यसरी बिदा लिएपछि पार्टीगत नाम ‘अग्नि’ भएका आचार्यले आफूबाट ‘गल्ती भएको भए माफी चाहन्छु’ भनेर माफी मागेका थिए । 

अन्त्यमा बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त विषय सम्बोधनका क्रममा उठाएका थिए । प्रचण्डले सामान्य विषय नै भए पनि समीक्षा भने गर्ने बताएका थिए ।