Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भ्रम नफैलाए हुन्छ, कांग्रेस–एमाले गठबन्धन सरकार कसैले ढाल्न सक्दैनः ईश्वर पोखरेल

सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान गठबन्धनको सरकारलाई कसैले पनि ढाल्न नसक्ने बताएका छन् । आज (सोमबार) हेटौंडामा एमाले मकवानपुरको पूर्ण बैठकलाई सम्बोधन गर्दै पोखरेलले सरकार आज ढल्दै, भोलि ढल्दैछ भनेर भ्रम फैलाउने काम भइरहेको भन्दै एमाले–कांग्रेस गठबन्धनको बलियो सरकारलाई कसैले ढाल्न नसक्ने बताएका हुन । कांग्रेस र एमालेमा बेइमानी पलाए मात्र सरकार ढल्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले–कांग्रेस दुबै दल इमानदार रहँदासम्म पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने जिकिर गरे । पोखरेलले देशमा देखिएको संकट समाधान गर्न र राजनीतिक स्थायित्वको लागि वर्तमान सत्ता समीकरण बनेको स्पष्ट पारे ।


२०७९ को निर्वाचनपछि राजनीतिक अस्थिरतको बिगबिगी चलिरहेको समयमा दुबै दलले आपसमा सहकार्य गरेको उनले उल्लेख गरे । अहिले कांग्रेससँग सत्ता सहकार्य गर्दैगर्दा आगामी चुनावीमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी दल हो भन्ने कुरालाई नभुल्न पनि उनले कार्यकर्तालाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्ति बनाउनु पर्नेमा जोड दिँदै त्यसकै लागि पार्टीले मिसन ८४ अभियानअन्तर्गत अहिले पार्टीको वडा केन्द्रीत तीन महिने जरा अभियान सञ्चालन भइरहेको बताए । उनले जरा अभियानमा सक्रिय भएर लाग्न र हरेक वडा, टोल तथा जनताको घरदैलोमा पुग्न कार्यकर्तालाई निर्देशन दिए । उनले अभियानअन्तर्ग बैठक मात्र बसेर नहुने भन्दै बैठकले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

नेता पोखरेलले पार्टीले आगामी निर्वाचन ८४ मा केन्द्र, प्रदेश र स्थानीय तहमा बहुमत नल्याए मुलुक फेरि अस्थिरताको भुमरीमा फस्ने बताउँदै अहिलेबाटै पार्टीको कामहरु जनतासँग जोडिने र देखिने गरी गर्न निर्देशन दिए । उनले जनताको मन जिते मात्र मत प्राप्त गर्न सकिने भएकोले जनचाहना बुझेर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष पोखरेलले लोकतन्त्रलाई सबल बनाउन पनि एमाले बलियो हुनुपर्ने बताए । एमालेको नेतृत्वलाई बदनाम गराउन विभिन्न तत्वहरु क्रियाशील हुँदा कार्यकर्ता पंक्ती चुप लागेर बस्न नहुने भन्दै पोखरेलले त्यसको डटेर सामान गर्न पनि निर्देशन दिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीका पूर्वसदस्य शिवहरि बर्तौलासहित करिब दुई दर्जन नेता कार्यकर्तालाई एमालेमा स्वागत गरे । पर्टी प्रवेश कार्यक्रमलाई सहजीकरण गरेका एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले पार्टीको तीन महिने वडा केन्द्रीत जरा अभियानअन्तर्गत पार्टी प्रवेश कार्यक्रम भएको बताए । अभियानअन्तर्गत जिल्लाको १० वटै स्थानीय तहको १०२ वटै वडा कमिटीमा बैठक सञ्चालन भएको र पार्टीको जरा अभियान सक्रिय रुपमा सञ्चालन भइरहेको उपाध्यक्ष लामाले बताए ।