Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

डोजरले खसालेको ढुङ्गाले लागेर बालकको मृत्यु, आमा घाइते

मुगुमा सडक खन्ने क्रममा डोजरले खसालेको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । सोरु गाउँपालिका–१० धैन गाउँका १० वर्षीय लोकजङ्ग नेपालीको ढुङ्गाले लागेर मृत्यु भएको हो भने उनकी आमा कल्पना नेपाली घाइते भएकी छन् ।

आइतबार साँझ हुम्लाबाट घर फर्किने क्रममा गाउँ नजिकै सडक निर्माण भइरहेको स्थानमा ढुङ्गा खस्दा बालकको घटनास्थलमै मृत्यु भयो भने आमालाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि सोमबार बिहान जिल्ला अस्पताल मुगु पठाइएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी अच्युतराज आचार्यले जनाएका छन् ।


घर पुग्ने बेला सडक खनेको ठाउँबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ। आचार्यले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार बाटोमा हिँड्दै गरेका बालकको टाउकोमा ढुङ्गाले लागेको थियो भने महिलाको गर्धन र पाखुरामा चोट लागेको छ ।

कर्णाली प्रदेश सरकारको लगानीमा सोरूदेखि दोमुख सडक निर्माण भइरहेको छ । स्थानीयले ठेकेदार पक्षको लापरबाहीले दुर्घटना भएको आरोप लगाएका छन् ।