Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नेकपा एकीकृत समाजवादीले भन्यो–एमसीसीलाई कहिल्यै ठिक भनेनौं

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको बताएका छन् । आज सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव भूसालले एकीकृत समाजवादीले एमसीसीलाई कहिल्यै ठिक नभनेको बताएका हुन् ।

उनले भने, ‘एकीकृत समाजवादीले एमसीसीलाई कहिल्यै ठिक भनेन । हामीले कसरी मात्रै ठिक रहन्छ भन्ने मात्रै प्रश्न भनेका हौं । व्याख्यात्मक टिप्पणीमा पनि केही समस्या हुन सक्छन् । हामीले स्वीकार गर्छौं । एमसीसी संविधानसँग बाझ्ने कुरामा, हाम्रो सबैभन्दा ठूलो कुरा छ । त्यसको लेखापरीक्षण लगायतका तमाम कुरामा हाम्रो रिजर्भेसन रहेको हो। नेकपा एकीकृत समाजवादी संस्थागत रुपमा एमसीसीको पक्षमा रहेन भन्ने कुरा हामी जानकारी गराउँछौं । यो संसद्बाट पारित भएकाले अनुगमन पनि संसदीय हुनुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं ।’

उनले भने, ‘एमसीसी संविधानसँग बाँझ्ने कुरामा हाम्रो सबैभन्दा ठूलो असहमति छन्, त्यसपछि त्यसको लेखा परीक्षणदेखि तमाम चिजमा हाम्रो रिजर्भेसन रहेकै हो । त्यसैले एकीकृत समाजवादी संस्थागत रुपमा कहिल्यै पनि एमसीसीको पक्षमा रहेन । यो संसदबाट पारित गरिएको हुनाले यसको अनुगमन पनि संसदीय हुनुपर्छ भनेर पोहोरदेखि नै हामीले यो आवाज उठाइरहेका छौं । अरु पार्टीलाई यो कुरामा कन्भिन्स गराउन सकेनौं । अहिले पनि अरु पार्टीलाई आह्वान गर्छौ एमसीसीबारे के भएको हो? हामीले अनुगमनको कुरा गरेका छौं । त्यो आज पनि सान्दर्भिक रहेको छ ।’

गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशीघ्र रिहाइका लागि माग समेत बैठकले गरेको छ । बैठकले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ । त्यस्तै पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको महासचिव भूसालले बताए ।