Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा कार्यरत यूएनएमआईएसएसमा फोर्स रिजर्भ बटालियनको रूपमा कार्यरत शान्ति सेनाको अदलीबदली गरिएको हो ।

मिसनमा रहेको अरिदमन गण (शान्ति सेना) दशौं डफ्फालाई बदली गर्नका लागि चण्डीप्रसाद गण (शान्ति सेना) ११औं डफ्फाका २११ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली, सेनानी मिलन आचार्यको नेतृत्वमा शनिबार राति मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।


यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौं डफ्फामा कार्यरत २१३ जना शान्ति सैनिकहरू प्रमुख सेनानी महेश्वर सिलवालको नेतृत्वमा शनिबार नै स्वदेश फिर्ता भएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी कूल १,७५६ जना शान्ति सैनिकहरू कार्यरत रहेका सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।