Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रकृति लम्साल मृत्यु प्रकरणः केआईआईटीका दुई सुरक्षागार्ड बर्खास्त, तीन कर्मचारी निलम्बित

नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) सुरक्षागार्ड बर्खास्त गर्दै कर्मचारीहरुलाई निलम्बित गरेको छ ।

केआईआईटी कलेजले एक विज्ञप्ति जारी गरेर दुई सुरक्षाकर्मीलाई बर्खास्त र तीन कर्मचारीहरुलाई निलम्बित गरिएको जानकारी दिएको हो । कलेजले दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको बताएको छ । विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति माफी मागेको छ ।


मानसिक र शारीरिक दुव्र्यवहार भोगेकी नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा नेपाली विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई हिजो निस्कासन गरेको थियो । विश्वविद्यालयको छात्रावासबाट हिजो बिहान कुटपिट र गालीगलौज गर्दै विश्वविद्यालय प्रशासनले जबर्जस्ती लखेटेका नेपाली विद्यार्थीहरु रेल्वे स्टेसनमा अलपत्र परेका थिए भने कतिपय होटलमा बस्न वाध्य भएका थिए ।

कलेजले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परिएको पनि बताएको छ । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै गरेकी प्रकृति लम्साल आइतबार साँझ मृत भेटिएकी थिइन् ।

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए । विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृतिको ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । विद्यार्थीहरूले प्रदर्शन गरेको भन्दै विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टेलबाट निकालेर विभिन्न ठाउँमा छाडिदिएको थियो ।

यसैबीच भारतका लागि नेपाली राजदूत शंकर शर्माले विश्वविद्यालय प्रशासनले घटनाप्रति माफी मागेको र बस पठाएर नेपाली विद्यार्थीलाई रेल स्टेसनबाट धमाधम छात्रावासमा फर्काइरहेको जानकारी दिए । उडिसाको केआईआईटी विश्वविद्यालयमा १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।

केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी मृत भेटिएको घटना र सबै नेपाली विद्यार्थीलाई गरिएको निष्कासनको घटनाबारे शिक्षा र परराष्ट्र मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली विद्यार्थीको सुरक्षा र दोषीलाई कारबाहीको माग गरेको थियो । नेपाली विद्यार्थीप्रति विश्वविद्यालयले गरेको दुर्व्यवहारको नेपाल र भारतमा चर्को आलोचना भइरहेको छ । प्रकृति लम्सालमाथि उत्पीडन गर्ने व्यक्तिलाई भारतीय प्रहरीले हिजै पक्राउ गरिरसकेको छ ।