Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

भारतमा नेपाली छात्रा मृत्यु प्रकरणः केआईआईटी होस्टल फर्किन नेपाली विद्यार्थीको आठ बुँदे शर्त

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा विद्यार्थीहरूले हडताल जारी राखेका छन् ।

नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि विद्यार्थीहरूले आज पनि प्रदर्शन तथा हडताल गरेका हुन् । त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार विद्यार्थीहरूले आज कलेजमै विरोध प्रदर्शन गरेका हुन् । नेपाली विद्यार्थीको मृत्यु प्रकरणपछि कलेज प्रशासनबाट भएको नेपाली विद्यार्थी दुर्व्यवहारमा भारतीय विद्यार्थीहरूले अग्रपंक्ति खटिएर आन्दोलन गर्न थालेका हुन् ।


केआईआईटीका अधिकारीहरूको व्यवहारका कारण नेपाली विद्यार्थी त्रसित बन्न पुगेको भन्दै भारतको सत्तारुढ भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्को नेतृत्वमा आन्दोलन थालिएको हो । केआईआईटीका अधिकारीहरूले आन्दोलनरत विद्यार्थीहरूलाई कन्भिन्स गर्न खोजिरहेका छन् । तर, उनीहरूले दोषीमाथि कारबाही हुनुपर्ने, नेपाली विद्यार्थीलाई कलेजबाट निकालेर घर पठाउनेहरूमाथि अनुसन्धान गरेर कारबाही गरिनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन् ।

केआईआईटीले नेपाली विद्यार्थीहरूलाई हिजो नै कलेज फर्किन अनुरोध गरेको थियो । उक्त घटनापछि विद्यार्थीको सुरक्षाका लागि सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको बताउँदै आएको केआईआईटीले सोमबार राति अर्को विज्ञप्ति जारी गर्दै कलेजमा फर्केर पठनपाठनमा सहभागी हुन अनुरोध गरेको थियो ।

फर्किनका लागि विद्यार्थीहरूले भने विभिन्न आठ बुँदे सर्तहरू राखेका छन् । भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका नेपाली विद्यार्थीहरूले पुनः होस्टेल फर्केर पठनपाठनमा सहभागिता जनाउनका लागि आठ बुँदे शर्तहरू राखेका हुन् ।

१. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।

२. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।

३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनु पर्छ ।

४. नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।

५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।

६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनु पर्छ ।

७. विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नु पर्छ ।

८. कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको) लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।